ज्वरोका बिरामीलाई डाक्टरले १५ घण्टासम्म नहेर्दा…

काठमाण्डु टुडे २०७६ चैत २३ गते १७:०६ मा प्रकाशित

काठमाण्डु, २३ चैत– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले गरिरहेको कामप्रति गम्भीर आपत्ति जनाएका छन् ।

उनले सरकारले महामारी नियन्त्रणका लागि प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप लगाए । वैद्यले रोकथामदेखि उपचार प्रक्रियासम्म लापरबाही भएको टिप्पणी गरे । उनले अस्पतालहरुको पालरबाहीका अगाडि सरकार निरीह देखिएको पनि बताए ।

अस्पतालबाहिर ल्याएर राखिएका बिरामीले डाक्टर भेट्न १५ घण्टासम्म पर्खिनुपरेको घटनाले स्थितिको गम्भीरता दर्शाउने उनको भनाइ छ । ‘बागलुङ्बाट पोखरा ल्याई गण्डकी अस्पतालको बाहिर प्राङ्गणमा राखिएका ज्वरोको बिरामीले डाक्टर भेट्नका निम्ति करिब १५ घण्टासम्म पर्खिनु परेको कुराले स्थितिको गम्भीरतालाई दर्शाउँछ,’ वैद्यद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसलाई टुलुटुलु हेरेर बस्ने सरकारको निरीहताप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ ।’वैद्यले कोरोना न्यूनीकरणका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न पनि माग गरेका छन् ।

वैद्यले बिरामीको उपचार नगर्ने अस्पतालमाथि कारबाहीको मागसमेत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us