फिलिपिन्समा मास्क नलगाई हिंड्नेलाई गोली हानेर मारियो

काठमाण्डु टुडे २०७६ चैत २३ गते २१:३६ मा प्रकाशित

एजेन्सी– फिलिपिन्समा मास्क नलगाई हिंडेको भन्दै प्रहरीले एक व्यक्तिलाई गोली हानी हत्या गरेका छन् । बिना मास्क सार्वजनिक स्थलमा हिंडिरहेका ती व्यक्तिलाई स्वास्थ्यकर्मीले मास्क लगाएर हिंड्न आग्रह गरेका थिए ।

दक्षिणी प्रान्त अगुसन डेल नोर्तेको नासिपित सहरको चेकप्वाइन्टमा स्वास्थ्यकर्मीले रोकेर उनलाई मास्क लगाउन भनेपछि उनी रिसाए । मास्क लगाउन इन्कार गर्दै क्रुद्ध भएका ती व्यक्तिले अपशब्द बोल्दै स्वास्थ्यकर्मीमाथि धारिलो हतियार प्रयोग गरे । त्यसपछि एक प्रहरी अधिकारीले उनीमाथि गोली चलाए ।

गोली लागेर ती व्यक्तिको घटनास्थलमै मृत्यु भयो । यसअघि लकडाउनका बीच खानेकुरा माग गर्दै मानिसहरु राजधानी मनिलामा प्रदर्शनमा उत्रिएपछि राष्ट्रपति रोड्रिगो दुतेर्तेले बुधबार भनेको नमान्नेलाई गोलीले उडाइदिन सुरक्षा निकायलाई निर्देशन दिएका थिए । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि गरिएको लकडाउनको नियम उल्लंघन गर्नेमाथि गोली हानेर मारिएको यो विश्वमै पहिलो घटना हो ।

राष्ट्रपति दुतेर्तेले कसैले नियम नमानेर अरु निर्दोेष मानिसको ज्यान लिन्छ भने उसको पनि बाँच्ने अधिकार खोसिने चेतावनी दिएका छन् । आइतबारसम्म फिलिपिन्समा ३ हजार ९४ जनामा कोरोना संक्रमण देखिएको छ । ४४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us