२४ घण्टामा भेटिएनन् नेपालमा कोरोनाका नयाँ संक्रमित

काठमाण्डु टुडे २०७६ चैत २३ गते २२:०३ मा प्रकाशित

काठमाण्डु, २३ चैत– सरकारले पछिल्लो २४ घण्टामा नेपालमा एक जना पनि कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला नपरेको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको २४ घण्टामा २ सय ५२ जनाको नमुना परीक्षण गरिएकामा कसैमा पनि संक्रमण नदेखिएको स्पष्ट गरेको हो । मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म देशभर १ हजार ५ सय २९ जनाको नमुना परीक्षण गरिएको जानकारी दिए । देवकोटाले कोरोना प्रभावित विभिन्न मुलुकबाट आई भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएको सबै ९४ जनाकै नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको पनि बताए ।

देवकोटाले विदेशबाट फर्केका सबैलाई एकपटक अनिवार्य रुपमा क्वारेन्टाइनमा बसिदिएर महामारी नियन्त्रणमा सहयोग गर्न पनि अपिल गरे । यस्तै देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित हेटौंडा, चितवन, धरान, सुर्खेत, जनकपुर ,पोखरा र धनगढी गरी आठ स्थानबाट नमूना परीक्षण भइरहेको जानकारी दिए ।

समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि सरकारले संक्रमणको देश्रो चरणमा नेपाल प्रवेश गरिसकेको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us