काउन्सिलले प्रधानमन्त्री कार्यालयलाई भन्योः फेसबुकमा भ्रमपूर्ण सूचना राखेर किन जनतालाई दुःख दिएको ?

काठमाण्डु टुडे २०७६ चैत २८ गते २१:३५ मा प्रकाशित

काठमाण्डु, २८ चैत– प्रेस काउन्सिल नेपालले सर्वसाधारणमा भ्रमपूर्ण सूचना प्रवाह गरेको भन्दै प्रधानमन्त्री कार्यालयलाई सतर्क गराएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको निर्णयको हवाला दिँदै प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल फेसबुकमार्फत लकडाउनका कारण काठमाण्डु उपत्यकामा अलपत्र परेकाहरुलाई शुक्रबार र शनिबार दुई दिन गाउँ जान दिने सूचना दिएकामा प्रष्टीकरण मागेको हो ।

तर, स्थानीय तह र प्रदेशले आफूहरुसँग परामर्श नगरी एकलौटी गरिएको निर्णय कार्यान्वयन गर्न नसकिने चेतावनी दिएपछि समितिले केही घण्टामा त्यस्तो निर्णय नभएको भन्दै झुठो दाबी गरेको थियो । समितिको त्यस्तो दाबीपछि प्रधानमन्त्री कार्यालयको फेसबुक पेजबाट सूचना हटाइएको थियो ।

कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको काउन्सिल बैठकले त्यस्ता सूचना प्रवाह गर्दा सचेत हुन भनेको छ ।  प्रधानमन्त्री कार्यालयको प्राविधिक त्रुटिका कारण सञ्चार माध्यममा गलत समाचार प्रवाह भएको र सर्वसाधारणमा भ्रम सिर्जना भएको काउन्सिलले जनाएको छ ।

त्यस्ता गतिविधिले सरकारी निर्णयको विश्वसनीयतामा प्रश्न उठ्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । ‘यस्ता गल्ती सच्याउनेतर्फ सकारात्मक र शीघ्र पहलबाट नै आम जनसमुदाय, मिडिया र सरकारलाई विगतका महाभूकम्प, नाकाबन्दीलगायत अप्ठ्यारा कालखण्डमा झैँ अबका जुनसुकै विपत्तिहरू मिलीजुली पार लगाउनमा बल पुग्ने दृढ विश्वास लिइएको छ’ काउन्सिलले भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us