‘अध्यक्ष मियाँ भारतमा कोरोना फैलाउन लाग्नुभएको छैन’

काठमाण्डु टुडे २०७६ चैत २८ गते २३:२९ मा प्रकाशित

काठमाण्डु, २८ चैत– पर्साको जगन्नाथपुर गाउँपालिकाले अध्यक्ष जालिम मियाँ अन्सारीलाई भारतमा कोरोना भाइरस (कोभिड–१९) फैलाउन सक्रिय रहेको भन्ने आरोपप्रति आपत्ति प्रकट गरेको छ ।
केही भारतीय सञ्चार माध्यमले मियाँ भारतीय सीमा क्षेत्रमार्फत कोभिड–१९ को महामारी फैलाउने षड्यन्त्रमा सामेल रहेको समाचार सनसनीपूर्ण भन्दै प्रकाशन÷प्रसारण गरिरहेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष मियाँविरुद्ध दुस्प्रचार गरेको भन्दै गम्भीर ध्यानकार्षण भएको जनाएको छ ।
बिना तथ्य नेपाली नागरिकको चरित्र हत्या गर्नु आफैंमा गैरजिम्मेवार कार्य भएको गाउँपालिकाको ठहर छ । ‘कोरोना महामारीको समयमा नेपालको ७५३ वटै स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु कोरोना महामारी रोकथाम र जनतालाई राहत सामग्री उपलब्ध गराउने कार्यमा दिनरात खटिरहेको अवस्थामा कुनै पनि नेपाली निर्वाचित जनप्रतिनिधिलाई ‘कोरोना फैलाउने योजना बनायो’ भनी लान्छना लगाउनु निन्दनीय कार्य हो’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा नेपाली निर्वाचित जनप्रतिनिधिको चरित्र हत्या गर्ने कार्य गरेको सम्बन्धमा भारतीय दूतावाससँग खेद प्रकट गर्न परराष्ट्र मन्त्रालयसँग माग गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us