प्रधानमन्त्री ओली अस्वस्थ !

काठमाण्डु टुडे २०७७ जेठ १० गते १९:२२ मा प्रकाशित

काठमाण्डु, १० जेठ– प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमै बसेको नेकपा सचिवालय बैठकमा उपस्थित भएनन् । बालुवाटरमा बैठक बसिरहँदा ओली शयन कक्षमा आराम गरिरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

अस्वस्थतको कारण भने खुलाइएको छैन । ओलीको तीन महिनाअघि दोश्रोपटक मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको थियो ।

तर, अस्पताल जानै पर्ने गरी स्वास्थ्यमा समस्या भने नदेखिएको भनाइ श्रोतको छ । धपेडीका कारण असहज महसुस भएकाले आराम गरेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले पाँच दिनअघि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकलाई लागातार तीन÷तीन घण्टा सम्बोधन गरेका थिए ।

सोही कारण धपेडी भएको हुन सक्ने बताइएको छ । दोश्रोपटक अस्पतालबाट डिस्चार्ज हुनुअघि प्रधानमन्त्री ओलीलाई धपेडी नगर्न चिकित्सकले सुझाएका थिए । तर, चिकित्सकको सुझावको बेवास्ता गर्दै ओली काममा सक्रिय छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us