दैलेखमा कोरोना संक्रमितको संख्या आठ पुग्यो

रासस २०७७ जेठ १२ गते २१:३९ मा प्रकाशित

दैलेख,१२ जेठ– शनिबार दैलेखबाट स्वाब संकलन गरेर पठाइएका सात जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । यसअघि एक जनाको कोरोना पुष्टि भइसकेको छ ।

यससँगै दैलेखमा संक्रमितको संख्या ८ पुगेको छ । संक्रमित सबै भारतबाट आएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख निरञ्जन पन्थले जानकारी दिए ।

आठबीस नगरपालिकाका एक युवकको उपचार अहिले सुर्खेत भएको छ । त्यस्तै नारायण नगरपालिकाका  १५ र १८ वर्षीय किशोर र युवकमा संक्रमण देखिएको छ । डुङ्गेश्वर गाउँपालिकाको एक दम्पती र अन्य एक पुरुष गरेर तीन जना संक्रमित भएका छन् ।
गुराँस गाउँपालिकाका दुई पुरुषमा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये नारायण नगरपालिकाभित्रका संक्रमित पाँच जनालाई सरस्वती मावि तर्तागङ्मा निर्माण गरिएको आइसोलेशन अस्पतालमा राखिएको छ । गुराँस गाउँपालिकाका दुई जना क्वारेन्टाइनमै बसेका छन् ।

 किट अभाव

दैलेखमा आरडिटी र पिसिआर दुवैका किट अभाव देखिएको छ । भारतबाट जिल्ला भित्रिनेको संख्या दैनिक हजार हुन थालेपछि परीक्षण गर्ने किट सकिएको जिल्ला स्वास्थ्य खोप अधिकृत थिरप्रसाद रेग्मीले बताए ।

सबैको अन्यत्र कोही कसैसँग सम्पर्क भए नभएका बारेमा व्यापक खोजी  शुरु गरिने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us