तरकारी फाल्ने काम गर्नेमाथि ठाउँका ठाउँ कारबाही

काठमाण्डु टुडे २०७७ जेठ २२ गते २१:४७ मा प्रकाशित

काठमाण्डु, २२ जेठ– सरकारले कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लगाउँदै आएको लकडाउनका समयमा तरकारी तथा फलफूलको ढुवानीमा कुनै प्रकारको रोक लगाउने नीति नरहेको स्पष्ट गरेको छ ।

गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै आवश्यक स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी गरिने ढुवानीमा अवरोध नगर्न र गरेको अवस्थामा कारबाही गर्न मातहत निकायलाई निर्देशन दिएको छ । त्यस कार्यमा अवरोध गर्ने जो कोही भए पनि दण्ड सजायको भागिदार हुने चेतावनी गृहले दिएको छ ।

‘नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड गरी गराई तरकारी, फलफूल लगायतका वस्तुहरु उत्पादन, संकलन, ढुवानी र बिक्री वितरण सहजीकरण भइरहेको हुँदा यस कार्यमा अवरोध सिर्जना गर्नु कानूनविपरीतको कार्य हुने र यस प्रकारका कार्य गर्ने जो कोही पनि दण्ड सजायको भागिदार हुनुपर्ने व्यवहोरा पनि जानकारी गराइन्छ’, गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसको बर्खिपाल हुने गरी गतिविधि गर्नेमाथि प्रतलित कानूनअनुसार कडा कारबाही गर्न पनि स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।

विभिन्न जिल्लामा देशभित्रै उत्पादित तरकारी नष्ट गरिएका समाचारहरु सार्वजनिक भएपछि गृहले यस्तो चेतावनी जारी गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us