नेकपामा प्रचण्डको हात माथि, एमसीसीबाट ब्याक भए ओली

काठमाण्डु टुडे २०७७ असार १० गते १४:४९ मा प्रकाशित

काठमाण्डु, १० असार– सत्तारुढ नेकपाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तत्काल संसदबाट पारित नगर्ने भएको छ ।

लामो बहस र विवादपछि शीर्ष नेतृत्वतहमा तत्कालका लागि एमसीसी थाती राख्ने निर्णय गरेको हो । आगामी वर्ष एमसीसी परियोजना सुरु हुन १६ असारमा नेपालको संसदबाट एमसीसी अनुमोदन हुनुपर्छ । नेकपाको सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा एमसीसी संशोधन नगरी पारित गर्न नहुने पक्षमा बहुमत छ ।

बहुमत पक्षको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली एमसीसी पारित गर्नुपर्ने अडानमा छन् । सोही विवादबीच लामो समयदेखि नेकपाको स्थायी समिति बैठक बस्न सकेको थिएन ।

एमसीसीको विपक्षमा बहुमत हुने भएपछि ओलीले बैठक टार्दै आएका थिए । बुधबार सुरु स्थायी समिति बैठकअघि दुई अध्यक्ष ओली र प्रचण्डको बैठक बसेको थियो ।

नेकपा उच्च स्रोतका अनुसार दुई नेताबीच तत्कालका लागि एमसीसी थाती राख्ने सहमति भएको छ । यस्तै उनीहरुबीच अमेरिकालाई एमसीसी अनुमोदनको समयसीमा केही समयपछि सार्न आग्रह गर्ने पनि सहमति भएको बुझिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us