काठमाण्डु उपत्यका कोरोनाको उच्च जोखिममा !

काठमाण्डु टुडे २०७७ असार ११ गते ८:२७ मा प्रकाशित

काठमाण्डु, ११ असार–कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा पनि तीव्र रूपमा फैलिरहँदा काठमाण्डु उपत्यकामै तयारी फितलो देखिएको छ ।

सरकारले जनजीवन सहज बनाउन बन्दाबन्दी (लकडाउन) खुकुलो बनाएसँगै सर्वसाधारण नागरिक काठमाण्डु उपत्यका भित्रने क्रम बढेको छ । तर, उपत्यका भित्रनेहरूलाई स्थानीय तहले क्वारेन्टिनमा राख्ने कुनै व्यवस्था गरेका छैनन् । काठमाण्डु महानगरपालिकाका प्रवक्ता ईश्वर डंगोल महानगरअन्तर्गत एउटा पनि क्वारेन्टिन नभएको स्वीकार गर्छन् ।

‘हामीसँग एउटा पनि क्वारेन्टिन छैन, यहाँ दिनमा हजार बढी मानिस भित्रिएका छन् । एउटा वडामा सरदर ३ हजार आउने देखिन्छ, त्यसरी हेर्दा हामीलाई एक लाखभन्दा बढी अट्ने क्वारेन्टिन आवश्यक पर्छ । जनशक्ति अभावमा क्वारेन्टिन बनाउन सकिएको छैन,’ उनले  भने ।

उनले प्रदेश र केन्द्र सरकारलाई आफूहरूले क्वारेन्टिन बनाउने तर त्यसको रेखदेख गर्ने जनशक्ति माग गर्दा सहयोग नपाएको गुनासो गरे । ‘हामी क्वारेन्टिन बनाउँछौं तर त्यसका लागि चाहिने चिकित्सकसहितको जनशक्ति दिन प-यो भनेर प्रदेश र केन्द्र सरकारलाई भन्यौं । तर, केही सहयोग भएन,’ उनले भने  ।

उनी काठमाण्डु आउनेहरूलाई पिसिआर गर्ने हो भने महानगरपालिकाको बजेटले पनि नपुग्ने बताउँछन् । काठमाण्डु महानगरपालिकाको मात्रै यस्तो हालत भने होइन, काठमाण्डु उपत्यकाका सबै स्थानीय तहको उस्तै अवस्था छ ।

काठमाण्डु उपत्यमा क्वारेन्टिन नभएकै कारण पछिल्लो समय कोरोना संक्रमित जिल्लाबाट उपत्यका भित्रिएकाहरू क्वारेन्टिन नबसी र कुनै परीक्षण नै नगरी आफ्नो घर कोठा पुगेर सिधै समुदायमा घुलमिल भइरहेको पाइएको छ ।

यसअघि क्वारेन्टिनको अनुगमन तथा सहजीकरणको जिम्मा पाएका सहरी राज्यमन्त्री रामवीर मानन्धर बाहिरबाट काठमाडौं आएर सिधै समुदायमा घुलमिल हुँदा उपत्यकामा संक्रमणको जोखिम बढेको बताउँछन् ।

‘बाहिरबाट आउनेहरूलाई कुनै पनि हालतमा १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्छ । नत्र यसले ठूलो जोखिम निम्त्याउँछ,’ उनले राजधानीसँग भने ।  राजधानी  दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us