बैंकको ब्याज ९ प्रतिशतमा झर्छः अर्थमन्त्री खतिवडा

काठमाण्डु टुडे २०७७ असार १५ गते १६:१९ मा प्रकाशित

काठमाण्डु, १५ असार– अर्थमन्त्री युवराज खतिवडाले बैंकको ब्याज ९ प्रतिशतभन्दा कम हुने बताएका छन् ।

खतिवडाले मौद्रिक नीतिमार्फत बैंकको ब्याजदर एक अंकमा झार्ने गरी तयार भइरहेको उल्लेख गरे । नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्दै मन्त्री खतिवडाले कोभिड–१९ महामारीका कारण प्रभावित भएको नेपाली अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको जिकिर गरे । उनले अनुमान गरेको भन्दा धेरै कम मात्र रेमिट्यान्स घटेको बताए ।

‘कोभिड–१९) का कारण नेपालमा जति रेमिट्यान्स घट्छ भन्ने अनुमान गरिएको थियो, त्यस्तो भएन’, खतिवडाले भने, ‘नेपाली अर्थतन्त्रका लागि यो राम्रो संकेत हो ।’ उनले जेठ महिनामा मात्र एक खर्ब रेमिट्यान्स भित्रिएको बताए ।

जसका कारण विदेशी मुद्रा सञ्चिती बढ्न गई बैंकमा तरलता कायम भएको उल्लेख गरे । उनले नेपाली युवाको विदेशमा माग बढेकाले रेमिट्यान्स अझै बढ्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us