पार्टीमा अप्ठेरो परेपछि प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिसँग परामर्श

काठमाण्डु टुडे २०७७ असार १६ गते १४:२९ मा प्रकाशित

काठमाण्डु, १६ असार– सत्तारुढ नेकपाको स्थायी समिति बैठकअघि प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

आफ्नै सरकारी निवास बालुवाटारमा पार्टी बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । पार्टीभित्र अप्ठेरोमा परेका कारण ओलीले राष्ट्रपतिसँग परामर्श गरेको हुन सक्ने बुझिएको छ ।

महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि र संकटमा परेका बेला ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने गरेका छन् । यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दूरी बढेका बेला पनि ओलीले राष्ट्रपतिको सहयोग लिएका थिए । राष्ट्रपतिले ओली र प्रचण्डलाई शीतल निवासमा सँगै भेटेपछि तत्कालका लागि नेकपा विवाद साम्य भएको थियो । त्यस विषयमा प्रतिपक्षी काँग्रेसले पार्टी राजनीतिमा हाबी भएको भन्दै संसदमै राष्ट्रपतिको गरिमा कायम गर्न माग गरेको थियो ।

नेकपामा सरकार र पार्टी सञ्चालनमा अरु नेतालाई बाइपास गरेको भन्दै प्रधानमन्त्री ओलीप्रति असन्तुष्टि चुलिएको छ । जारी बैठकमा सर्वत्र सरकारको भूमिका कमजोर भएको भन्दै सदस्यहरुले आलोचना गर्दै आएका छन् ।

प्रधानमन्त्री ओली स्वयंले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएका छन् । त्यसमा नेपालकै नेतासमेत सहभागी भएको भन्दै उनले पार्टीभित्र असन्तुष्ट नेताहरुतर्फ संकेत गरेका छन् । पछिल्लो समय ओली नेकपाको सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा अल्पमतमा परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us