केपी ओलीका पक्षमा सडक प्रदर्शन नगर्न निर्देशन 

काठमाण्डु टुडे २०७७ असार १९ गते २०:०३ मा प्रकाशित
काठमाण्डु, १९ असार– सत्तारुढ नेकपा निकट युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशीखा’ ले प्रधानमन्त्री केपी ओलीका पक्षमा प्रदर्शनमा नजान कार्यकर्तालाई निर्देशन दिएका छन् ।
ओली पक्षधर विद्यार्थी र युवाले उनको राजीनामा मागिएको विरोधमा सडक प्रदर्शन थालेका बेला सापकोटाले सबै नेता समान भन्दै कसैका पक्ष वा विपक्षमा सडकमा नउत्रन दिर्नेशन दिएका हुन् । उनले हाल चलिरहेको छलफल, बहस, आलोचना र आत्मालोचना पार्टी बैठकमा चलेकाले त्यसलाई सडकमा ल्याएर जिन्दावाद, मूर्दावादको विषय बनाउन नहुने बताए । आज एक पक्ष सडकमा गएको र भोलि अर्को पक्ष सडकमा गयो भने के हुन्छ ? भन्दै उनले जीवन्त पार्टीभित्र भएको छलफललाई सडक वा सामाजिक सञ्जालको रमिताले हल नगर्ने स्पष्ट गरे ।
‘हाम्रो पार्टीमा अहिले चलिरहेको छलफल, बहस, आलोचना र आत्मआलोचना पार्टीभित्र र बैठकमा चलिरहेको हो । जीवन्त पार्टीमा विधि र विधानभित्र बसेर भइरहेको बहसलाई सडकमा ल्याउने र जिन्दावाद, मुर्दावादको विषय बनाउने विषय होइन’, सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सबै पार्टी नेताहरू समान छन् र हुनुपर्छ । पार्टीगत छलफलको एजेण्डा सडक वा सामाजिक सञ्जालको रमिताले हल गर्दैन । यसको समाधान कमिटी र प्रणालीमै खोज्नुपर्छ । यसर्थ विरोध या समर्थनमा सडकमा नजाऔं  ।  आज तिमी जाँदा भोलि अर्को गयो भने के हुन्छ ? समर्थक र विरोधी दुवै हुन्छन् भन्ने बुझौं !’
प्रधानमन्त्री ओलीले शुक्रबार अखिल र युवासंघका आफू निकटकालाई बालुवाटार बोलाएर आफ्नो पक्षमा सडकमा उत्रन निर्देशन दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us