ओली भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाण्डु टुडे २०७७ असार २२ गते ११:०३ मा प्रकाशित

काठमाण्डु, २२ असार– पार्टी विवाद उत्कर्षमा पुगेपछि सहमति प्रयासमा नेकपाका शीर्ष नेताबीच आज पनि छलफल भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीसँग छलफल गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

यसअघि आइतबार पनि नेताहरुबीच छलफल भएको थियो । तर, सहमति जुट्न नसकेपछि छलफल आजका लागि सारिएको थियो ।

ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने प्रचण्ड–माधव नेपाल पक्षको दबाब र दुवै पद नछाड्ने बरु परिस्थितिको सामना गर्ने ओलीको अडानकाबीच नेकपा फुटको संघारमा पुगेको छ ।

यसैबीच आज बस्ने भनिएको स्थायी समिति बैठक शीर्ष तहमा गृहकार्य नपुगेको भन्दै बुधबारसम्मका लागि स्थगित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us