काठमाण्डुमा दलाई लामाको जन्मोत्सव, सरकारले थाहा पाएन कि, छुट दियो ?

काठमाण्डु टुडे २०७७ असार २३ गते ८:०० मा प्रकाशित

काठमाण्डु, २३ असार– नेपालमा रहेका तिब्बतीले धार्मिक नेता दलाई लामाको ८५औं जन्मदिन सुटुक्क मनाएका छन् । न उनीहरूले नेपालमा रहेका कूटनीतिक वृत्तलाई निमन्त्रणा गरे न त सरकारलाई नै जानकारी दिए ।

कोरोना संक्रमण जोखिमको कारण देखाउँदै उनीहरूले सोमबार बौद्धस्थित सेटलमेन्ट अफिसमा सट्याकसुटुक्क दलाईको जन्मोत्सव मनाएका हुन् । कार्यक्रममा दलाईका प्रतिनिधि एवं नेपालस्थित तिब्बती शरणार्थी शिविरका संयोजक छुल्त्रिन ग्यात्सोसहित १५ जना तिब्बती अगुवा सहभागी थिए । लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले जन्मोत्सव कार्यक्रमको संयोजन गरेको थियो ।

संयोजक ग्यात्सोले सामान्य कार्यक्रम गरी धर्मगुरुको जन्मोत्सव मनाइएको बताए । ‘राजनीतिक अभिप्रायले कार्यक्रम आयोजना गरिएको होइन’, उनले भने, ‘धार्मिक आस्थाका कारण लामाको जन्मदिन मनाएका हौं ।’

नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ । चीनविरोधी हुने भन्दै सरकारले तिब्बती शरणार्थीका गतिविधिमा रोक लगाउँदै आएको छ । विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा दलाईको जन्मदिन मनाउने गरेका छन् । उनीहरूले विगतमा कूटनीतिक क्षेत्रका प्रतिनिधिको उपस्थितिमा सार्वजनिक स्थलमा कार्यक्रम गरेका थिए । त्यसका लागि सरकारले कुनै वर्ष अनुमति दिन्थ्यो त कुनै वर्ष रोक लगाउँथ्यो । यसपटक आफ्नो कार्यालय परिसरमै कार्यक्रम गरिएकाले सरकारसँग अनुमति नलिएको जनाइएको छ । अन्न्पूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us