स्वास्थ्यमन्त्री भन्छन्ः काठमाण्डुमा कोरोना महामारीले भयावह रुप लिँदैछ

काठमाण्डु टुडे २०७७ साउन १८ गते १९:२१ मा प्रकाशित

काठमाण्डु, १८ साउन– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले काठमाण्डु उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) का कारण भयावह अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

मन्त्री ढकालले उपत्यकामा संक्रमणको जोखिम उच्च भएको बताए । महामारीले भयावह रुप लिन सक्ने भएकाले समयमै सचेत रहन उनको आग्रह थियो । मन्त्री ढकालले उपत्यकामा कोरोना नियन्त्रणका लागि नयाँ रणनीति बनाउनुपर्ने बताए ।

ढकालले उपत्यकामा फेरि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी रहेको उल्लेख गरे । यस्तै बाहिरी जिल्लाबाट काठमाण्डु आएकालाई अनिवार्य क्वारेन्टिनमा राखिने जानकारी पनि मन्त्री ढकालले दिए ।

‘काठमाण्डुजस्तो ठूलो जनघनत्व रहेको बस्तीमा संक्रमण फैलियो भने नियन्त्रण बाहिर जान्छ’, उनले भने, ‘काठमाण्डुमा फैलियो भने त्यो आगोजसरी फैलिन्छ ।’ सरकारले तोकेको मापदण्ड सर्वसाधारणले पालना नगरेका कारण संक्रमणको खतरा बढ्ने देखिएको मन्त्री ढकालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us