नारायणकाजीले सार्वजनिक गरे नेकपा विवाद समाधानको सूत्र

काठमाण्डु टुडे २०७७ साउन २४ गते २१:१८ मा प्रकाशित

काठमाण्डु, २४ साउन– सत्तारुढ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्काल स्थायी समिति बैठक सुचारु गर्न माग गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले पार्टी विवादको निकासका लागि स्थायी समिति बैठक तत्काल सुचारु गर्नुपर्नेमा जोड दिएका हुन् । सबैले बैठकमा उपस्थित भएर आफ्ना विचार राख्नुपर्ने भनाइ उनको छ ।

‘म फेरि जोड दिएर भन्छु, हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं’, श्रेष्ठले भनेका छन्, ‘सबै बैठकमा उपस्थित भएर आ(आफना विचार राखौं र छलफल गरौं ।’ प्रवक्ता श्रेष्ठले निकासका लागि आवश्यकताअनुसार शीर्षस्थ नेताहरुका बीचमा र सचिवालयमा गृहकार्य गर्नुपर्ने बताए ।

पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णयअनुसार महाधिवेशनको तयारी गर्ने गरी निकास निकाल्नुपर्ने जोड श्रेष्ठको छ । यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहँकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गर्नुपर्ने उनको भनाइ छ ।

पार्टी विवादलाई कसैको जितहारको विषय नबनाई पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनतालाई विजयी बनाउनुपर्ने विचार उनले राखे । ‘पार्टीभित्रको बहस र अन्तरसंघर्षलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाऔं, व्यक्तिको हार र जीतको विषय होइन’, उनले भने, ‘पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनतालाई विजयी बनाऔं ।’

श्रेष्ठले व्यक्तिगत आरोप ,प्रत्यारोप वा गालिगलौजका रुपमा नभर्इ वैचारिक,‬ ‪सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गर्नुपर्ने स्पष्ट गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us