सवारी पास बन्द गर्न गृहको ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

काठमाण्डु टुडे २०७७ साउन २८ गते २२:१७ मा प्रकाशित

काठमाण्डु, २८ साउन– गृह मन्त्रालयले एक जिल्लाबाट अर्कोमा जाने सवारी पास बन्द गरेको छ ।

गृहले बुधबार देशभरका सबै ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई आन्तरिक सर्कुलरमार्फत कुनै पनि सवारी पास जारी नगर्न निर्देशन दिएको हो । मानिसहरुको आवतजावतका कारण कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएकाले पास जारी नगर्न गृहले निर्देशन दिएको हो ।

गृहले बिहीबारबाटै नयाँ पास जारी नगर्न निर्देशन दिएको छ । ‘प्रस्तुत विषयमा कोभिड–१९ का कारण नेपाल सरकार, मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएका निर्णय तथा यस मन्त्रालयबाट भएको निर्देशन समेतको आधारमा हालसम्म तहाँबाट जारी हुँदै आएको सवारी पास व्यवस्थालाई कोभिड-१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म मिति २०७७/०४/२९ देखि लागू हुने गरी वितरण नगर्नु नगराउनुहुन आदेशअनुसार अनुरोध छ’, गृहको परिपत्रमा भनिएको छ ।

पछिल्लो समय उपत्यकासहित देशैभर कोरोना संक्रमित संख्या ह्वात्तै बढेको छ । संक्रमित संख्या बढेसँगै सरकारले आउजाउमा कडाई गर्ने नीति लिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us