
‘अहिले तपाईं के चाहनुहुन्छ? क्यसिनोका निर्देशक बोधविक्रम पाण्डे वा तपाईंको लगानी?,’ घिमिरेले धम्कीयुक्त इमेलमा लेखेका छन्, ‘तपाईंको प्रतिबद्धता र निर्णयलाई १५ दिन कुर्छु, होइन भने मेरो उपल्लो तहका वरिष्ठ नेताको आदेश पालना गरी उनीहरूको सुझावअनुसार अगाडि बढ्नुपर्छ। सम्भवतः त्यो निर्देशन उपयुक्त हुँदैन।’
क्यासिनोका मलेसियाली लगानीकर्ता कङलाई इमेल गरेर धम्क्याएपछि घटनाले उग्ररूप लिएको हो। इमेलमा घिमिरेले क्यासिनोका निर्देशक पाण्डेलाई १५ दिनभित्र नहटाए ‘क्यासिनोभित्रका सबै परिस्थिति, विवाद, तोडफोड इत्यादीलाई बेवास्ता गर्न’ उल्लेख गर्दै धम्क्याएका छन्। आजको नागरिक दैनिकमा खबर छ ।
‘कार्कीलाई कारबाही गरेर तपाईंले निकै ठूलो गल्ती गर्नुभएको छ र त्यसलाई सुधार गर्नुस्,’ युनियन अध्यक्ष घिमिरेले प्रमुख कार्यकारी अधिकृत कङलाई लेखेको इमेलमा उल्लेख छ, ‘तपाईंसँग अब केवल एकमात्र विकल्प छ। कि क्यासिनोभित्रका सबै परिस्थिति, विवाद, तोडफोडलाई बेवास्ता गर्नुस् वा निर्देशक पाण्डेलाई कामबाट हटाउनुस्।’
आफ्नै मजदुरबाट धम्की आएपछि विदेशी लगानीकर्ताले क्यासिनो सांग्रिला नै बन्द गर्ने चेतावनी दिएका छन्। प्रमुख कार्यकारी अधिकृत कङले क्यासिनो व्यवस्थापनलाई इमेल गरी आवश्यक सावधानी अपनाई धम्कीविरुद्ध प्रहरीमा उजुरी गर्न निर्देशन दिएका छन्।
‘हामी धम्कीबाट डराउँदैनौं,’ कङले व्यवस्थापनलाई पठाएको इमेलमा उल्लेख छ, ‘यदि आवश्यक पर्यो भने क्यासिनो नै बन्द गर्छौं।’ कङको निर्देशनपछि क्यासिनो व्यवस्थापनले काठमाडौं जिल्ला प्रशासन कार्यालय, बागमती अञ्चल श्रम कार्यालय र श्रम विभागमा धम्कीयुक्त इमेलसहित उजुरी हालेको छ। उक्त धम्कीयुक्त इमेल र कङको निर्देशनको इमेल कपी नागरिकसँग सुरक्षित छ।
‘अनियमितता गरेका मजदुरलाई कारबाही गरिएको हो र यो फिर्ता पनि हुँदैन,’ क्यासिनो व्यवस्थापनका एक अधिकारीले सोमबार नागरिकसँग भने, ‘यदि फिर्ता गर्नैपर्ने अवस्था आयो भने क्यासिनो नै बन्द गर्छौं।’
उता मजदुर युनियनले पनि ‘कङलाई पठाएको इमेल र त्यसमा क्यासिनो बन्द गरिदिन्छु भनी फैलाइएको हल्ला झुठो हो र अनावश्यक हल्लाको पछाडि नलाग्न’ सम्पूर्ण कर्मचारी–मजदुरलाई आग्रह गरेको सूचना प्रकाशित गरेको थियो।
यसअघि २०६८ पुस दोस्रो साता पनि माओवादी मजदुरको विवादपछि क्यासिनो सांग्रिला बन्द भएको थियो। यो क्यासिनोमा मलेसियाली कम्पनी गोल्ड सोरको सतप्रतिशत (३० करोड रुपैयाँ) लगानी रहेको छ।
काम गरिरहेका मजदुरहरूको ‘अनुशासनहीन व्यवहार तथा विकृति र विसंगति झेल्न नसक्ने’ भन्दै मलेसियाली कम्पनीले क्यासिनो औपचारिक रूपमा बन्द गर्ने घोषणा गरेको थियो।
माओवादी र एमाले निकट मजदुर विवादका कारण बन्द रहेको क्यासिनो सांग्रिला माघ दोस्रो साताबाट पुनः सञ्चालनमा आएको थियो। माओवादी, एमाले र कांग्रेस निकट मजदुरले व्यवस्थापनद्वारा प्रस्तुत सबै १४ सर्त मान्न तयार रहेको भन्दै हस्ताक्षर गरेपछि क्यासिनो पुनः खुलेको थियो।
– See more at: http://www.nagariknews.com/economy/tourism/story/5356#sthash.uF3TdZec.dpuf