
काठमाण्डु, १३ भदौ– बार्सिलोनाले ११ औं पटक स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । एथ्लेटिको मड्रिडसँग बुधबार रातिको दोस्रो लेगमा गोलरहित बराबरी खेलेपछि बार्सिलोनाले ‘अवे’ गोलका आधारमा उपाधि जितेको हो ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना हावी भए पनि गोल गर्न भने चुकेको थियो । खेलको अन्त्यतिर लुईस र तुरनले रातोकार्ड खाँदै बाहिरिएपछि एथ्लेटिको मड्रिड ९ खेलाडीमा सिमित भएको थियो । ८९ औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीमा लिओनल मेसीको प्रहार खेर गएको थियो ।
यी दुई टोलीबीच यसअघि भएको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । जारी सिजनबाट प्रशिक्षक बनेका जेरार्डो टाटा मार्टिनोले बार्सिलोनालाई उपाधी जिताएपछि उनको यात्रा पनि सुखद भएको छ ।