
काठमाण्डु, १४ भदौ । अस्थायी शिक्षकहरुले शुक्रबार काठमाण्डु उपत्यकाका सामुदायीक विद्यालय बन्द गराएका छन् । अस्थायी शिक्षकहरुलाई स्थायी गर्नुपर्नेलगायत माग गर्दै अस्थायी शिक्षक संघर्ष समितिको आह्वानमा विद्यालय बन्द गरिएको हो । बन्दको कारण शुक्रबार काठमाण्डु, ललितपुर र भक्तपुरका सामुदायीक विद्यालयमा पढाई प्रभावित भएको छ । संघर्ष समितिले जिल्ला शिक्षा कार्यालयमा शुक्रबार धर्नासमेत दिएको छ ।
शिक्षा मन्त्रालय, शिक्षक सेवा आयोगले गत वर्ष पुस २० गते २०६३ वैशाख १० सम्मका दरबन्दी यथावत् राखी सोपछिका दरबन्दीमा मात्र खुल्ला गर्ने भन्ने विज्ञापनले अस्थायी शिक्षकलाई विस्थापन गर्न लागिएको भन्दै अस्थायी शिक्षकहरु आन्दोलित भएका हुन् ।
अस्थायी शिक्षकले सरकारले आफूहरुलाई समान प्रक्रियाबाट स्थायी गर्नुपर्ने र शिक्षकबीचको विभेद हटाउनुपर्ने लगायत माग राखेका छन् । संघर्ष समितिका अध्यक्ष रामचन्द्र अधिकारीले कुनै पनि शिक्षक विस्थापित नहुने सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने बताए । माग पूरा नभए अझै कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।