
काठमाण्डु, ७ भदौ– नेपाली काँग्रेसले आसन्न संविधानसभा निर्वाचनका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट ८ जना सम्भावित उम्मेद्वारको नाम सिफारिस गरेर पठाउन देशका ७५ वटै जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रत्यक्षतर्फको उम्मेद्वारीका लागि तीन जना र समानुपातिकका लागि पाँच जनाको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।
बैठकले उम्मेद्वारको नाम सिफारिस गर्दा महिला, आदिवासी जनजाति, मधेसी र पिछडिका वर्गलाई समावेश गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको बैठकपछि प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिए । बैठकमा सभापति सुशील कोइरालाले असन्तुष्ट दलहरुलाई वार्तामा ल्याउन भइरहेका प्रयासबारे सदस्यहरुलाई जानकारी गराएका थिए । बैठकमा बोल्ने अधिकांश सदस्यले गोलमेच सम्मेलनमा चुनावको मिति र सरकार परिवर्तनमा सम्झौता नगर्न नेतृत्वलाई दबाब दिएका थिए ।