
अनन्तपुरम, १८ असोज–भारतको मन्त्रिपरिषद्ले नयाँ राज्य तेलङ्गना सिर्जनाका लागि लामो समयसम्मको प्रदर्शन तथा कहिलेकाँही हुने हिंसाप्रति झुक्दै सकारात्मक निर्णय गरेको एक दिनपछि शुक्रबार यस निर्णयको विरोधमा दक्षिणपूर्वी भागमा प्रदर्शन देखा परेको छ । सो प्रकरणमा केही सङ्घीय मन्त्रीले राजिनामा समेत दिएका छन ।
प्रधानमन्त्री मनमोहन सिंहको मन्त्रिपरिषद्ले आन्ध्र प्रदेशलाई विभाजन गर्ने विवादस्पद निर्णय गरेपछि प्रदर्शनकारीले यस प्रदेशको तटीय क्षेत्रका सडकहरू बन्द गरी दिएका छन् ।
संसदले सहमति दिएमा तेलङ्गना भारतको २९ औँ राज्य हुनेछ । नयाँ राज्यका पक्षधरहरूले यस क्षेत्रलाई आन्ध्र प्रदेशका सरकारहरूले ध्यान नदिने गरेको आरोप लगाउने गरेका छन् ।
हैदराबादबाट ४०० किलोमिटर परको अनन्तपुरममा प्रदर्शनकारीहरूले नारा लगाएर सत्ताधारी कङ्ग्रेस पार्टीको पोस्टर च्याते ।
नयाँ दिल्लीमा मानव संसाधनमन्त्री पल्लम राजुले आफूले विरोधमा मन्त्री पद त्याग गरेको पुष्टि गरेका छन् । पर्यटनमन्त्री चिरञ्जीवी तथा टेक्स्टाइल मन्त्री के.एस. रावले राजिनामा दिएको पीटीआई समाचार संस्थाले जानकारी दिएको छ ।
आन्ध्र प्रदेशमा सत्ताधारी कङ्ग्रेस पार्टीका पूर्व सहयोगी तथा हाल प्रतिद्वन्द्वी वाई.एस. जगनमोहन रेड्डीले यस निर्णयको विरोधमा आफू अनिश्चितकालीन भोक हडतालमा जाने र प्रदर्शन निरन्तर रहने बताए ।
यस क्षेत्रको प्रमुख नगर सूचना प्रविधिको केन्द्र हैदरावादले कम्तीमा आउँदो १० वर्षका लागि दुवै राज्यको केन्द्रको रूपमा काम गर्नेछ ।
भारतमा सन् २००० मा थप तीन नयाँ राज्य स्थापना भएका थिए । आलोचकहरूले भारत जातीय रूपमा विविधतायुक्त मुलुक भएकाले तथा निकै पृथकतावादी आन्दोलन चलिरहेकाले यस पाइलाले नयाँ राज्य स्थापनाको समाधान गर्नै नसकिने समस्या आरम्भ हुने धारणा व्यक्त गरेका छन् । रासस/एएफपी