
दोहा, २६ मंसिर– कतारले त्यहाँ कार्यरत चार सय नेपालीलाई जवर्जस्ती स्वदेश फर्काउने तयारी गरेको छ ।
तोकिएभन्दा कम पारिश्रमिक दिइएको भन्दै आमहड्तालमा उत्रिएका नेपाली कामदारलाई त्यहाँको सरकारले फिर्ता पठाउन लागेको हो । प्रहरीले ती नेपाली कामदारलाई नियन्त्रणमा लिएर न्यू सहेलियास्थित एक व्यापारिक केन्द्रमा राखेको छ ।
उनीहरु सबै एक्सबोल्वोरालो नामक कम्पनीमा ६ महिनादेखि १४ वर्षसम्म काम गरेकाहरु छन् । दोहा नजिकै रहेका उनीहरलाई गत बिहीबारदेखि न्यू सहेलिया सारेको हो ।
नेपाली कामदरलाई खानसमेत दिइएको छैन । सरकारले तोकेको न्युनतम मासिक तलब ९ सय र खानामा ३ सय गरी १२ सय रियाल हुनुपर्नेमा तवल ४ सय र खानाको सुविधा नदिइएकाले आफूहरु आन्दोलनमा उत्रिनुपरेको नेपाली कामदारहरु बताउँछन् ।
यसैबीच त्यहाँस्थित नेपाली दूतावासले बाँकी तलव र सुविधा दिएर मात्र फिर्ता पठाउन कतार सरकारलाई आग्रह गरेकोछ ।