
काठमाण्डु, १३ पुस – नयाँ शक्तिको रुपमा उदाएको आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले नयाँ दिल्लीको मुख्यमन्त्रीको शपथ लिएका छन् । मध्याह्न ऐतिहासिक रामलीला मैदानमा शपथ लिएसँगै उनी दिल्लीकाे सातौं मुख्य मन्त्री बनेका छन् ।
केजरीवाल पार्टी कार्यालयबाट मेट्रो चढेर रामलीला मैदानमा पुगेका थिए । केजरीवालसँगै मन्त्री पदको शपथ लिएका ६ विधायक पनि मेट्रोबाटै रामलिला मैदान पुगे ।
भ्रष्टाचारविरुद्धको आन्दोलनबाट अघि आएका केजरीवालको आम आदमी पार्टीले कांग्रेसको समर्थनमा दिल्लीमा अल्पमतको सरकार बनाएको हो ।
कुल ७० सिटमध्ये २८ सिट जितेको आम आदमीलाई ८ सिट जितेको काँग्रेसले विनासर्त समर्थन गरेपछि केजरीवालले अल्पमतको सरकार बनाएका हुन् ।
३२ सिट जितेको भारतीय जनता पार्टी भने दिल्लीको सबैभन्दा ठूलो पार्टी भएपनि बहुमत पु¥याउन नसकेर प्रतिपक्षमा बसेको छ ।
केजरीवालले यसअघि मुख्यमन्त्रीका लागि दिइने सरकारी आवास अस्वीकार गरेका थिए भने भीआईपी सुरक्षा पनि नलिने घोषणा गरेका छन् ।