
काठमाण्डु, पुस- भारतमा आम आदमी पार्टी (आप)ले दिल्ली विधानसभामा पूर्ण बहुमतसहितको समर्थन पाएको छ ।
कांग्रेस ८ सदस्यसहितका आप २८ सदस्यको विश्वासमतका आधारमा अब दिल्लीमा मुख्यमन्त्री अरबिन्द केजरीवालले सरकार सञ्चालन गर्न पाउने भएका छन् ।
जनता दल युनाइटेडको एक सदस्यसहित आपले ३७ जना विधानसभा सदस्यको समर्थन पाएको छ । केजरीवालले खानेपानी, बिजुली, सुशासन, भ्रष्टाचारसहितका विषयमा १७ वटा मुद्दालाई अघि सारेर दिल्ली विधानसभामा आफ्नो धारणा राखेका थिए ।
केजरीवालले देशमा इमानदार शासन ल्याउने लडाईंमा आफूहरु आएको बताए । विधानसभामा कांग्रेस सदस्य अरविन्दसिंह लब्लीले दिल्लीका जनताका पक्षमा निर्णय गरुन्जेल र सुधारका काम गरिन्जेल आपलाई कांग्रेसको समर्थन रहने बताएका थिए ।
आपका पक्षमा र केजरीवालको एजेण्डामा समर्थन जनाउन कांग्रेसले आफ्ना सदस्यहरुलाई हृवीप जारी नगरेको भएपनि सहमति आधारमा आपले बहुमत पाएको हो ।
दिल्ली बिधानसभामा भारतीय जनता पार्टी (बिजेपी)को ३२, आम आदमी पार्टी (आप)को २८, कांग्रेसको ८ र अन्य दलका २ विधानसभा सदस्य छन् । ६ महिनासम्म अविश्वासको प्रस्ताव लैजान नपाइने भएकाले आपको सरकार ६ महिनासम्म ढुक्कले चल्नेछ ।