
बेइजिङ, ६ माघ – भ्रष्टाचारमा संलग्न उच्चदेखि तल्लो तहका अधिकारीलाई कार्वाही गर्ने चेतावनी दिँदै आएका महासचिव सी चिनपिङको निर्देशन पालना गर्न चिनिया कम्युनिष्ट पार्टीले आग्रह गरेको छ ।
चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अनुशासन परिषदले आइतवार एक सूचना जारी गरी पार्टीका महासचिव सी चिनफिङले पार्टीको १८ औ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठमा दिएको सम्बोधनलाई राम्रोसँग अनुसरण गरी व्यवहारमा उतार्न आग्रह गरेको हो ।
सूचनामा बर्तमान सुधारलाई गहन पार्ने क्रममा पार्टीमा भ्रष्टाचारको विरोध गर्दै पार्टीको संगठित अनुशासनलाई कडा पार्नु पर्नेमा प्रष्ट पारिएको छ ।
पार्टी अनुशासन सम्बन्धी निरीक्षणका लागि केन्द्रीय आयोगमा गत वर्ष १९ लाख ५० हजार भ्रष्टाचारको आरोपका उजुरी प्राप्त भएका थिए । त्यस मध्ये एक लाख ७२ हजार पाँच सय ३२ मुद्दामा अनुसन्धान भएका छन् ।
चीनले एक लाख ८२ हजार ३८ अधिकारीलाई अनुशासनको कार्वाही पनि गरेको छ । भ्रष्टाचारको आरोप प्रमाणित भएका उपमन्त्रीस्तरका १९ जनालाई चीनले पदमुक्त गरेको छ ।
राष्ट्रपति समेत रहेका सी चिनफिङले आफू शासनमा आएपछि भ्रष्टाचार बिरुद्ध कडा अडान लिदै आएका छन । उनले भ्रष्टाचारले मुलुकलाई नै नष्ट गर्ने चेतावनी पनि दिँदै आएका छन । एजेन्सी