
लिबियाले आफ्नो देशमा रहेको रासायनिक अस्त्रहरुको भण्डार नष्ट गर्ने प्रकृया पूरा गरेको जनाएको छ। त्यस्तो प्रकृया सन् २००४ मा आरम्भ गरिएको थियो। यो घोषणा गर्नका लागि अन्तर्राष्ट्रिय समुदायका उच्च पदस्थ प्रतिनिधिहरु सहितको उपस्थितीमा, राजधानी त्रिपोलीमा एउटा पत्रकार सम्मेलनका आयोजना गरिएको थियो।
लिबियाका विदेशमन्त्री मोहम्मद अब्दुलअजीजले देशमा बांकी रहेका मस्टर्ड ग्यास भरीएका गोलाहरुलाई गत महिनाको अन्त्यतिर नष्ट गरिएको बताएका थिए।
“रासायनिक अस्त्र नष्ट गर्ने प्रकृया व्यवसायिक ढंगले संचालन गरिएकोमा हामी सन्तुष्ट छौं। यो काम वातावरण र ति अस्त्रहरु भण्डार गरिएका क्षेत्रमा कुनै नोक्शानी नुपग्ने गरी नै सम्पन्न गरिएको छ,“ विदेशमन्त्री अब्दुलअजीजले भने।
त्रिपोलीबाट बीबीसी सम्बाददाता राना जवाद आफ्नो रिपोर्टमा भन्छिन्, रासायनिक अस्त्र नष्ट गर्ने प्रकृया नौ बर्षअघि भूतपूर्व शासक मुअम्मर गद्दाफीको पालामा आरम्भ गरिएको थियो।
अन्तिम भण्डार
अब अमेरिका, जर्मनी र क्यानडाको सहयोगमा लिबियामा बांकी रहेको मस्टर्ड ग्यास र अन्य विषालु अस्त्रहरुको अन्तिम भण्डार पनि नष्ट गरिएको छ।
लिबियाका विदशमन्त्रीले पनि रासायनिक अस्त्र नष्ट गर्ने कार्य सम्पन्न हुनुलाई “महत्वपूर्ण क्षण”भन्दै त्यो सबै अन्तर्राष्ट्रिय साझेदारहरुसंगको सहकार्यको परिणाम भएको बताएका छन्।
उनले यो प्रकृया गत २६ जेनुअरीमा सम्पन्न गरिएको जानकारी दिए।
त्रिपोलीमा आयोजीत पत्रकार सम्मेलनमा, रासायनिक अस्त्र प्रतिबन्ध संगठनका महानिर्देशक अहमेट उजुम्चु ले यो लिबियाका लागि एउटा “उल्लेखनीय कोशेढुंगा” भएको भन्दै प्रशंसा गरेका थिए।उनले गत हप्ता रासायनिक अस्त्रहरु नष्ट गरिएको रुवाघा भन्ने स्थानको भ्रमण गरेका थिए।
सिरिया
उनले लिबियामा भएको काम अन्तर्राष्ट्रिय सहयोगको राम्रो उदाहरण भएको र यस्लाई ठूलो स्तरमा सिरियामा प्रयोग गर्न सकिने पनि बताएका छन्।
सन् २००४ मा लिबियाले आफूसंग १३ टन मस्टर्ड ग्यास रहेको बताएको थियो।
त्यसबेला देखि विस्तारै उक्त खतरनाक पदार्थको भण्डारलाई नष्ट गर्ने काम चलिरहेको थियो।
केही समय अवरुद्ध भएको यो प्रकृया सन् २०११ मा कनल गद्दाफीलाई सत्ताच्युत गर्ने विद्रोह यता पुन: आरम्भ गरिएको थियो। BBC