
ओस्लो, २ फागुन-“लर्ड बुद्ध वाज बर्न इन लुम्बिनी, नेपाल” भन्ने सन्देश सहितको बुद्धको प्रतिमा नर्वेजियन नोबेल इन्स्टिच्युटलाई उपहार प्रदान गरिएको छ।
डाइरेक्टर गेइर लुन्ड़ेस्टाडलाई लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका यूरोप सल्लाहकार दामोदरप्रसाद आचार्य र अभियानको राष्ट्रिय संयोजक नर्वेका डा. कृष्ण अर्यालले सोही इन्स्टिच्युटका प्रमुख प्रशासक डाग कुहले गोटोभाक मार्फत इन्स्टिच्युटमा बुधवार प्रदान गरिएको हो ।
यूरोपियन यूनियनका लागि नेपाली राजदूत राममणि पोखरेलको तर्फबाट उपहार स्वरुप सुनको जलप लगाइएको छ। अभियानका यूरोप सल्लाहकार आचार्यले राजदुत पोखरेलसंग गरेको अनुरोधमा उक्त प्रतिमा नोबेल इन्स्टिच्युटका डाइरेक्टरलाई उपहार प्रदान गरिएको बताए।
बैठकमा अभियानको तर्फबाट प्रमुख प्रशासक गोटोभाकलाई नेपाल राष्ट्र बैंकले गत बडा दशैको अवसरमा प्रचलनमा ल्याएको सचित्र अशोक स्तम्भ र सगरमाथा अंकित “लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध” लेखिएको दुवै तर्फ देखिने सिसाको फ्रेममा राखिएको एकसय रुपियाको नोट उपहार स्वरुप यूरोप सल्लाहकार आचार्य तथा राष्ट्रिय संयोजक डा. अर्यालले प्रदान गरेका हुन ।
हरेक वर्ष विश्वमा शान्ति स्थापनार्थ सर्वोकृष्ट कार्य गर्ने कुनै व्यक्ति वा संस्थालाई प्रदान गरिदै आएको नोबेल शान्ति पुरस्कारको लागि, व्यक्ति वा संस्थाले गरेको योगदानको विस्तृत अध्ययन तथा विश्लेषण सहित पुरस्कारका लागि सिफारिस गरी “नोबेल पीस कमिटि” मा पठाउने महत्वपूर्ण कार्य गर्दै आएको नर्वेजियन नोबेल इन्स्टिच्युटसंग अभियानको तर्फबाट भएको पत्राचारपछि उक्त बैठक तय गरिएको थियो ।
बैठकपछि प्रमुख प्रशासक गोटोभाकले त्यस इन्स्टिच्युटको लाइब्रेरी, प्राइज एनाउन्समेन्ट हल र नोबेल शान्ति पुरस्कार विजेताहरुको तस्बिर राखिएको ग्यालरीको अवलोकन गराएका थिए। विश्व शान्तिको लागि नर्वेजियन नोबेल इन्स्टिच्युटले खेलिरहेको भूमिकामा अभियानको तर्फबाट ऎक्यवद्द्ता जनाउने विषयमा उक्त बैठकमा सौहार्दपूर्ण छलफल भएको थियो ।