के मोदीले भेटेपछि नै मिलेका हुन् त प्रचण्ड–बाबुराम ?

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते ३:१८ मा प्रकाशित

mod-prachanda-baburamकाठमाण्डु, २४ मंसिर– केही समयअघिसम्म आफूहरुबीच राजनीतिक–वैचारिक रुपमै मतभिन्नता भएको बताउँदै पार्टीभित्र र बाहिरसमेत ‘दुई लाइन संघर्ष’ चलाइरहेका एमाओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराईबीचको विवाद सामसुम भएको छ ।

यी दुईको मेलमिलापसँगै केही समयदेखि विचारको विकासको नाममा बाबुराम भट्टराईले छेड्दै आएको बहस र प्रचण्डले आफूलाई दुईतिहाई केन्द्रीय सदस्यको साथ भएको नाममा विस्तार गरेका पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो सबैको अन्त्य गरिंदै छ ।

एक वर्षभित्र विशेष महाधिवेशन गर्ने गरी प्रचण्डलाई अध्यक्ष राखेर अरु सबै केन्द्रीय सदस्य मात्र रहेको आयोजक समिति निर्माण हुँदैछ ।

बाबुराम पक्षमा लागेकालाई महत्वपूर्ण जिम्मेवारी दिएर संगठनात्मक कार्यविभाजनसमेत गरिँदैछ । यहीबीच प्रचण्डले आगामी महाधिवेशनबाट आफू वैचारिक नेतृत्वमा मात्र रहने र अध्यक्षमा बाबुराम भट्टराईलाई ल्याउनुपर्ने प्रस्ताव राख्दैछन् भने बाबुरामले प्रचण्डलाई प्रमुख वैचारिक प्राधिकारसहितको सर्वोच्च नेता बनाउन प्रस्ताव राख्नेछन् ।
यसका लागि एमाओवादीले ६ महिनायता बस्न नसकेको केन्द्रीय समिति बैठक मंसिर २८ गतेदेखि बोलाएको छ । बैठकअघि भट्टराई र प्रचण्डनिकट नेतासँग विभिन्न चरणमा छलफल चलिरहेको छ भने नारायणकाजी पक्षले दुवैको विरोध नगर्ने रणनीति लिएको छ ।
देशैभर समानान्तर कमिटि गठन गर्ने र आवश्यक परे  पार्टी नै बुझाउन खोज्ने बाबुराम प्रचण्डपथ राख्नु परे पनि तयार हुने तहसम्म कसरी पुगे होलान् ? उनीनिकट नेता पनि दंगदास परेको बताउँछन् ।

बाबुराम प्रचण्ड र वर्षमान पुनबीच पुन निवास एकान्तकुना कुसुन्तीमा भएको डिनर मिटिङमा दुई नेताबीच महत्वपूर्ण सहमति जुटेको हो । भारतीय प्रधानमन्त्री नदरेन्द्र मोदीसँग भेटअघि र भेट पछि पनि प्रचण्ड र बाबुरामलाई विदेशीले छुट्टाछुट्टै भेटेका थिए ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणासँगै नेपालमा नयाँ जनवादी क्रान्ति आधारभूत रुपमा सम्पन्न भएको र अब समाजवादी क्रान्तिमा पुगेको निष्कर्षमा दुवै नेता पुगेका छन् । दुई नेताबीच बाबुराम पनि एक कार्यकाल मात्र अध्यक्ष हुने र त्यसपछि वर्षमान अध्यक्ष बन्ने सहमति पनि भएको बुझिएको छ ।

जनआस्था साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us