
काठमाण्डु, २६ मंसिर–राजनीतिमा सधै एकै कित्तामा उभिँदै आएका रोल्पा थबाङका जनता नेकपा–माओवादीमा आएको विभाजनमा कतै नलाग्ने निर्णयमा पुगेका छन् । झन्डै ६ दशक लामो समयदेखि कम्युनिस्ट दर्शनमा प्रशिक्षित भई सिंगो गाउँ एक ठाउँमा उभिँदै आएका थबाङवासी विगत तीन वर्षयता नेकपा –माओवादीको पक्षमा खुलेका थिए ।
तर, माओवादीमा आएको पछिल्लो विभाजनमा आफूलाई कतै नखुलाई तटस्थको नीति लिएर दुवै माओवादीलाई साथ नदिने जनाउँदै ‘पर्ख र हेर’को रणनीति अवलम्बन गरेका छन् ।
दोस्रो संविधानसभाको निर्वाचनमा बहिस्कारको आह्वान गरेको नेकपा–माओवादीलाई साथ दिई ‘शून्य मतदान’ गरेका त्यहाँका जनताले पटक–पटक भएको माओवादी विभाजनलाई स्वीकार गर्न सकिरहेका छैनन् ।
सदरमुकाम लिबाङमा विभाजित माओवादीका दुवै पक्षका केन्द्रीय नेताहरुलाई बोलाएर उनीहरुले थबाङको एकतालाई बचाउन केही वर्ष तटस्थ रही ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने जनाउसमेत दिएका छन् ।
माओवादी विभाजनपछि रोल्पामा कसरी जाने भन्ने विषयमा थबाङ, जेलबाङलगायतका क्षेत्रका जनताले दुवै माओवादीका केन्द्रीय नेताहरुलाई गत शुक्रबार सदरमुकाम बोलाएर छलफल गरेका थिए ।
राजधानी दैनिकबाट