
सुर्खेत, २७ मंसिर–जिल्लाका ग्रामीण बासिन्दा अहिले दिसा लुकाउने चटारोमा छन् । सदरमुकामबाट जाने सरकारी र गैरसरकारी निकायका व्यक्ति र बटुवाले गिज्याउन थालेपछि नजिकैको खोला, खोल्सा, झाडी र खुला स्थानमा दिसा गर्दै आएका गाउँले दिसा लुकाउने अभियानमा व्यस्त बनेका हुन् ।
घरमा शैचालय बनाउने, छिमेकीका घरमा शैचालय बने–नबनेको अनुगमन गर्ने, बैठकमा सहभागी हुने, कसैले खुला स्थानमा दिसा गरे सम्झाउने र सरसफाइ चेतना फैलाउने काम गर्दा गाउँले व्यस्त भएका छन् ।
दिसा लुकाउनु गाउँको प्रतिष्ठासँग जोडिएको विषय भएकाले अचेल फुर्सदका बेला पनि उनीहरु सरसफाइबारे छलफल गर्छन् ।
आगामी असार मसान्तसम्म जिल्लालाई खुला खिसामुक्त घोषण गर्ने तयारी भएकाले ग्रामीण बासिन्दा टोल सफा राख्न र घरघरमा शैचालय बनाउन लागि परेका छन् ।
अभियानमा शिक्षक, कर्मचारी, सामुदायिक वनका पदाधिकारी, स्वयंसेवक, वडा नागरिक मञ्चका पदाधिकारी, राजनीतिक दलका कार्यकर्ता र विद्यार्थी पनि सक्रिय छन् ।
अन्नपूर्णपोस्ट दैनिकबाट