
काठमाण्डु, २८ मंसिर–दर्जनौं देशका जेलबाट भाग्न सफल अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्स शोभराज ११ वर्षदेखि नेपालको जेलमा छन् । उनी यतिबेला केन्द्रीय कारागारको गोलघरमा हिन्दुधर्मको गीता पढिरहेका छन् ।
शोभराजकी सासु तथा अधिवक्ता शकुन्तला थापाले अंग्रेजी भाषामा अनुवाद गरिएको गीता शोभराजलाई जेलमा लगिदिएकी हुन् ।
‘केही महिनाअघि मैले गीता लगिदिएको हुँ’, थापा भन्छिन् ,‘फिलोसोफीका किताब पढ्न उसलाई एकदम मनपर्छ । त्यही भएर मैले लगिदिएको हुँ ।’
उनका अनुसार शोभराजले बाइबल पनि साथमै राखेका छन् । जेल स्रोतका अनुसार शोभराजको कोठामा विभिन्न किसिमका दर्जनौं किताब छन् । गोलघरमा एक्लै राखिएका उनी अधिकांश समय सुतेर बिताउँछन् भने बेलाबेला पढ्ने र लेख्ने गरेको स्रोत बताउँछ ।
शोभराजमाथि दुईवटा हत्या मुद्दामा अदालतले छुट्टाछुट्टै सर्वस्वहरणसहित जन्मकैदको सजाय सुनाइसकेको छ । सन् २००३ को अक्टोबरमा शोभराज रोयल क्यासिनोबाट पक्राउ परेका थिए ।
नयाँ पत्रिकाबाट