
काठमाण्ठु, २९ मंसिर– धर्म परिवर्तनको पक्षमा अभिव्यक्ति दिएका बेलायती राजदूत एन्डी स्पाक्र्सलाई सरकारले ‘समन’ गर्ने भएको छ । धर्म परिवर्तनको पक्षमा खुला अभियान चलाएपछि प्रधानमन्त्री सुशील कोइरालाले बेलायती राजदूतलाई स्पष्टीकरण सोध्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई निर्देशन दिएका हुन् ।
कांग्रेस संसदीय दलको बैठकमा आइतबार सभासद् डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, रामहरि खतिवडालगायतले राजदूत स्पाक्र्सको अभिव्यक्तिप्रति आक्रोश पोख्दै सरकार चुप लाग्न नहुने धारणा राखेका थिए । स्पाक्र्सको अभिव्यक्तिले देशमा सरकार छ कि छैन, छ भने त्यस्तो अभिव्यक्ति दिनेमाथि कारबाही प्रक्रिया अघि बढ्छ कि बढुदैन ’ भन्ने प्रश्न उठेको भन्दै सभासद्ले प्रधानमन्त्रीसँग सोधेका थिए ।
जबाफमा प्रधानमन्त्री कोइरालाले नेपालमा धर्मपरिवर्तनलाई संवैधानिक मान्यता दिनुपर्छ भन्दै हिँड्ने राजदूत स्पाक्र्ससँग स्पष्टीकरण सोध्न परराष्ट्रमन्त्री पाण्डेलाई निर्देशन दिइसकेको जानकारी दिए ।
अन्नपूर्णपोस्ट दैनिकबाट