‘प्रहरीले मलाई समात्दै छ’, भन्दै प्रिन्सिपल फरार भएपछि गुरुकुलका तीन सय विद्यार्थीको बिचल्ली

काठमाण्डु टुडे २०७१ पुष १ गते १:५४ मा प्रकाशित

काठमाण्डृ, १ पुस– शिक्षकले पढाउन छाडेपछि गुरुकुल नेसनल उमाविका तीन सय विद्यार्थी बिचल्लीमा परेका छन् । सञ्चालकबीचको झगडाका कारण महिनौंदेखि कलेजमा पढाइ हुन सकेको छैन, विद्यार्थीहरु अन्यत्र पनि स्थानान्तरण हुन पाएका छैनन् । उच्च माध्यमिक शिक्षा परिषद्ले गुरुकुल बन्द गर्ने निर्णय गरेको छ ।

दुई वर्षदेखि तलब नपाएपछि शिक्षकहरुले यसै शैक्षिक सत्रदेखि पढाउन छाडेका थिए । लामो समयदेखि अध्यापन नगराएर विद्यार्थीको विचल्ली बनाएको भन्दै परिषद्ले कलेज बन्द गर्ने निर्णय गरेको हो ।

सञ्चालकहरुलाई पक्राउ गर्नुपर्ने र आफूहरुले पढ्न पाउने वातावरण बनाउन आग्रह गर्दै विद्यार्थीहरुले बुधबार परिषद्मा निवेदन दिएका थिए । परिषद्ले बुधबार र बिहीबार कलेज अनुगमन गरेको थियो । विद्यार्थीको विचल्ली भएको विषयमा परिषद्ले शुक्रबार कलेजका प्रिन्सिपललाई नै बोलाएर छलफलसमेत गराएको थियो ।

तर, बैटकबाटै प्रिन्सिपल सुजित सिंह फरार भएका छन् । परिषद्का अधिकारीले लिखित जवाफ दिन भनेपछि ‘प्रहरीले मलाई समात्दै छ’, भन्दै उनी फरार भएका हुन् । तीन जना सञ्चालकलाई विद्यार्थीकै उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको छ । कलेजमा नौ सञ्चालक छन् ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us