
काठमाण्डु, ३ पुस–सरकारले उपराष्ट्रपति परमानन्द झाकी श्रीमती नविनाको उपचारका लागि झन्डै साढे नौ लाख रुपैयाँ दिएको छ । परराष्ट्र मन्त्रालयले रकम भुक्तानी पनि गरिसकेको छ ।
मन्त्रिपरिषद्को गत ४ मंसिरमा बसेको बैठकले नविनालाई ९ लाख ३० हजार १ सय १३ रुपैयाँ दिने निर्णय गरेको हो । उपराष्ट्रपति झाको दबाबमा सरकारले निर्णय गरेको स्रोतको दाबी छ ।
उपराष्ट्रपति झाकी पत्नी नविनाको भारतको म्याक्स केयर अस्पतालमा उपचार भएको थियो । नेपाली दूतावासमार्फत सरकारले अस्पताललाई भुक्तानी गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले आथिर्क सहयोग गर्दा अर्थ मन्त्रालयको समर्थन माग्नुपर्ने कानुनी व्यवस्था छ । तर, नविनालाई मन्त्रिपरिषद्ले ठाडो निर्णय गरेर रकम दिएको हो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार उपराष्ट्रपति झाकी श्रीमती कुनै सार्वजनिक पदमा छैनन् । ‘आथिर्क सहायताका नाममा मन्त्रिपरिषद्बाट ठाडै निर्णय भएर आउँछ, यसका आधारमा हामी रकम निकासा गर्न बाध्य छौँ,’ स्रोतले भन्यो । शक्तिमा भएका व्यक्तिले पहुँचका आधारमा उपचार खर्च लिइरहेका छन् ।
नयाँ पत्रिका दैनिकबाट