जुरेमा पहिरो, पेरुमा मुद्दा !

काठमाण्डु टुडे २०७१ पुष ४ गते १:४३ मा प्रकाशित

काठमाण्डु, ४ पुस– गत साउनमा सिन्धुपाल्चोकको जुरेमा पहिरोबाट भएको जनधनको नोक्सानीबापतको क्षतिपूर्ति विकसित देशले तिर्नुपर्ने आवाज पेरुको राजधानी लिमामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा उठेको छ ।

sunkoshi20
सयौं हेक्टर खेतीयोग्य जमिनको क्षति भएको यो पहिरो जलवायु परिवर्तनको असरका कारण गएको प्रमाणित भए त्यसबाट भएको क्षतिपूर्ति नेपालले पाउने अवधारणामा आधारित लस एन्ड ड्यामेजु संयन्त्रको ढाँचा पनि तयार भएको छ ।

लिमामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरुको सम्मेलन कोप २० ले क्षति र नोक्सानी संयन्त्र सक्रिय बनाउन स्थायी समितिको ढाँचा पारित गरेको हो । हानिनोक्सानीमा काम गर्ने तदर्थ समितिले प्रस्ताव गरेको कार्ययोजनासमेत पारित भएको छ ।

अब समितिले अन्तर्राष्ट्रिय रुपमै भएको क्षति र नोक्सानीको अध्ययन गर्नेछ । विश्वका ४८ वटा अति कम विकसित देशको संयोजक भएको नाताले नेपालले यो मुद्दालाई साना टापु भएका देशको समूह स्मल आइल्यान्डसँग मिलेर पेरुमा उठाएको हो । संयन्त्र गठनमा विवाद भएपछि सम्मेलन एक दिन सरेको थियो ।

जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक प्रकोपबाट भइरहेको हानिनोक्सानीको क्षतिपूर्ति विकसित देश एनेक्स १० बाट भराउने अवधारणासहित आएको लस एन्ड ड्यामेजु संयन्त्रबाट नेपालजस्ता अति कम विकसित देशले फाइदा लिन सक्छन् ।

अन्नपूर्णपोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us