
‘सानो कक्षादेखि सँगै पढ्ने साथीको मेरो काखमा मृत्यु हुँदाको क्षणलाई कसरी बिर्सूं । सम्झिँदा मुटु काम्छ’, अमिर अमिन भन्छन् ।
प्रमाणपत्र तहको परीक्षा सकेपछि अमिर आफ्ना मिल्ने साथी आइमल खानसँग कौसीमा बसिरहेका बेला अचानक गोली हानाहान सुरु भएको थियो ।
दुवैजना भागेर प्रयोगशालामा पुगे, तर तालिवान आतंककारी एकएक कोठामा आई आक्रमण गरे । एक कुनामा लुकिरहेका आइमनको गोली लागेपछि मृत्यु भएपछि अमिर एकछिनका लागि बेहोस सरह भए र संयोगले आतंककारीले उनी मरेको ठाने ।
अमिर भन्छन्, ‘हरर चलचित्रमा देख्ने गरेकोजस्तो राक्षस आई नरसंहार गरे । प्रयोगशालमा चार शिक्षक र ६ जना विद्यार्थी लुकेका थियौं । म बेहोस भएर बाँचें, तर बिउँझिदा सबै मरिसकेका थिए ।’ पेसावरस्थित विद्यालयमा भएको आक्रमणमा बाँच्न सफल भएका विद्यार्थीहरूले त्यहाँ भएको आक्रमणबारे सुनाउँदा आतंककारीहरू राक्षस भएका अनुभव हुन्छ ।
पेसावरस्थित सेनाद्वारा सञ्चालित विद्यालयमा आतंक मचाउने तालिवान कतिसम्म निर्दयी थिए भन्ने कुरा उनीहरूको कुराकानीबाट थाहा हुन्छ । पाकिस्तानी गुप्तचर एजेन्सीले फोन कल्स ट्यापिङ गरेका छन्, त्यसमा आतंककारीहरूले आफ्ना नेतासँग कुरा गरिरहेको सुनिन्छ ।
शिक्षक र बालबालिकामाथि अन्धाधुन्ध गोलाबारी गरेपछि अबुजार नाम गरेका एक आतंककारीले आफ्ना नेतालाई फोन गरेका थिए । फोनमा ती व्यक्तिले भनेका थिए, ‘हामीले अडिटोरियमका सबै बालबालिकालाई मार्यौं । अब के गर्ने ?’
अर्कोतर्फ जवाफ आयो, ‘सेना आउनेसम्म प्रतीक्षा गर्ने र उनीहरूको हत्या गरी आफैंलाई विस्फोट गराउने ।’ त्यस त्रासदीपूर्ण आक्रमणमा प्राध्यापक ताहिरा काजी भने अन्तिम समयसम्म निडर भएर लडिरहिन् । ताहिरालाई सुरुमा सेनाले विद्यालयबाट बाहिर निकालिसकेको थियो ।
भित्र विद्यार्थी रहेको भन्दै उनी फेरि विद्यालय छिरेकी थिइन् । यसक्रममा उनले कयौं बालबालिकालाई सुरक्षित रूपमा बाहिर त निकालिन् । उनले कयौं बालबालिकाको आमाबाबुलाई फोन गरेर बच्चाहरूलाई लिएर जान पनि बताउन भ्याइन् तर उनी आफू भने बच्न सकिनन् । तालिवानले उनलाई पक्राउ गर्यो र जीउँदै रसायनले जलाइदियो । विद्यालयको दृश्य हेर्दा बालबालिकाले भाग्न पूरै कोसिस गरेको देखिन्छ ।
फुटेका ज्यामिति बक्स, किताब र जुत्ताहरू रगतले लतपत देखिन्छ । तहरिक-ए-तालिवान पाकिस्तानले कक्षा ९ मा पढिरहेका सबै विद्यार्थीको हत्या गरे । त्यो दिन विद्यालयमा अनुपस्थित १५ वर्षीय दाउद इब्राहिम मात्र ९ कक्षाका जीवित विद्यार्थी हुन पुगे ।
सोमबार राति दाउद एक विवाह समारोहमा गएका थिए । उनी अबेर मात्रै फर्किएका थिए। बिहान घडी बिग्रेर अलार्म नबजेपछि उनी विद्यालय जान पाएनन् । त्यसै कारणले उनी बाँच्न सफल भए। उनी अहिले आफ्ना सहपाठीहरूको शव हेरेर शोकाकूल छन् ।
तालिवानको यस त्रासदीपूर्ण आक्रमणले पाकिस्तान पूरै शोकमा डुबेको छ । विद्यालय प्रशासनले गत अगस्त महिनामा नै तालिबवनलाई लिएर आशंका व्यक्त गरेको थियो ।
केही शिक्षकले विद्यालयका पर्खाल आक्रमणकारीलाई रोक्ने खालको नभएको बताएका पनि थिए। यसमा खासै कसैले ध्यान दिएन । आत्मघाती आक्रमणकारी मंगलबार बिहान १०:३० मा विद्यालयको पर्खाल चढेर भित्र आएका थिए ।
अन्नपूर्ण पोष्टबाट