मोबाइल किलर होमबहादुर पक्राउ, दुई वर्षमा ६० मोबाइल चोरी

काठमाण्डु टुडे २०७१ पुष ६ गते २:५० मा प्रकाशित

काठमाण्डु, ६ पुस– प्रहरीको ‘मोबाइल’ किलरका रुपमा चिनिएका हेमबहादुर खत्रीलाई फेरि पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर हनुमानढोकामा मोबाइल चोरी भएको उजुरी पर्नेबित्तिकै प्रहरी हेमबहादुरको खोजीमा लाग्छ ।

ओखलढुंगा घर भएका हेमबहादुरको चोर्ने काइदा पनि अन्य चोरको भन्दा फरक छ । उनी सामान खरिद गर्ने बहानामा दिनभरि पसल पसल चहारेर मंहगो देखिने मोबाइल पसल देखेपछि कसरी त्यो चोर्ने भन्ने दाउ हेर्छन् ।

प्रहरीका अनुसार पसलबाहिर राखेको सामानभन्दा धेरै मगाउने र साहुले फोन राखेर भित्र गएका बेला मोबाइल चोरिसक्ने कला हेमबहादुरको छ ।

‘मोबाइल फुत्काइसकेपछि फोन गर्दै बाहिरिएपछि मात्रै पसलले मोबाइल हराएको थाहा पाउँछन्’, महानगरीय प्रहरी अपराध महाशाखाका डिएसपी ओम अधिकारीले भने । उनका अनुसार होमबहादुरले दुई वर्षयता ६० वटाभन्दा बढी आइफोन चोरेका छन् ।

यसअघि प्रहरी वृत्त बौद्ध, ठिमी र अपराध महाशाखाले मोबाइल चोरीकै अभियोगमा उनलाई पक्राउ गरे पनि थोरै समय जेल बसेर छुटेका थिए ।

प्रहरीका अनुसार होमबहादुरले जुवाको खालमा समेत चोरीकै आइफोन दाउमा राख्ने गर्थे ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us