
काठमाण्डु, ७ पुस– राजधानीका कलेजमा बिहानी सिफ्टमा पढ्ने विद्यार्थी तथा पढाउने शिक्षक माइक्रो बसको मनपरी मारमा पर्ने गरेका छन् । भाडा छुटको सुविधा दिनुपर्ने भएपछि व्यवसायीले माइक्रो नचलाउँदा विद्यार्थी तथा शिक्षक मारमा परेका हुन् ।
चक्रपथबाहिरका विभिन्न स्टेसनबाट रत्नपार्क भित्रने माइक्रो बसले यस्तो गर्ने गरेका छन् । बिहानी सिफ्टमा अध्ययन गर्ने विद्यार्थी तथा शिक्षकका लागि ५:४५ देखि ६:१५ को अवधि कलेज जाने पिक आवर हो । तर, यही अवधिमा व्यवसायीले माइक्रो नै सञ्चालन गर्दैनन् ।
‘सञ्चालन गरेकाले पनि १० को माल छाड्दे’ भन्दै माइक्रोमा चढाउन अस्वीकार गर्ने गरेको विद्यार्थीको गुनासो छ । लामो आन्दोलनपछि सरकारले विद्यार्थीका लागि ४५ प्रतिशत गाडी भाडामा छुट दिने निर्णय गरेको थियो । यसबापतको सुविधा सरकारले व्यवसायीलाई उपलब्ध गराउँदै आएको छ । छुटअन्तर्गत विद्यार्थीले माइक्रोमा १० रुपैयाँ तिर्ने गर्छन् ।
बिहान कलंकी, बालाजु, ग्वार्को, कोटेश्वर, नारायणगोपाल चोक, चाबाहिल, र गोंगबु क्षेत्रबाट अत्याधिक विद्यार्थी राजधानी भित्रिन्छन् । ‘पिक आवर’मै माइक्रो नचल्दा विद्यार्थी चोकचोकमै अलपत्र हुने गरेका छन् ।
नयाँ पत्रिका दैनिकबाट