
काठमाण्डु, ८ पुस– नेपाल क्रिकेट संघ ‘क्यान’को गैरजिम्मेवारका कारण क्रिकेट विकासका लागि प्राप्त हुने ४ करोड भन्दा बढी रुपैयाँ गुमेको छ । एसियाली क्रिकेट परिषद् ‘एसिसी’ले पटकपटक ताकेदा गर्दा पनि संघले व्यावसायिक प्रस्तावसमेत नपठाएपछि नेपालले पाउने झन्डै ४ लाख ८ हजार डलर फ्रिज भएको हो ।
एसिसीले दुई वर्र्ष अन्तरमा एसिया कप आयोजना गर्छ । यो एसिसीले गर्ने प्रमुख प्रतियोगिता हो । नेपाल सहभागिता जनाउन नपाउने यो प्रतियोगितामा भारत, पास्कितान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्छन् । प्रतियोगिताबाट हुने नाफा रकम भने एसिसीले नेपालसहित एसोसिएट राष्ट्रलाई विकास सहयोग भनेर प्रदान गर्छ ।
एसिसीको पत्रमा उसले नेपाललाई सन् २००६ को एसिया कपबाट ९२ हजार, २००८ मा ८८ हजार, २०१० मा ८३ हजार र २०१२ मा २ लाख ७२ हजार लडलर गरेर झन्डै ५ लाख ३७ हजार दिने निर्णय गरेको थियो ।
त्यसमा एसिसी नेपाललाई २००६ मा ६६ हजार डलर र यसै वर्ष झन्डै ६३ हजार डलर निकासा गरिदिएको थियो । बाँकी अन्य रकम भने नेपालले आवेदन नभर्दा र भर्दा पनि व्यवसायिक प्रस्ताव नगर्दा एसिसीले फिर्ता लिने निर्णय गरेको हो ।
कान्तिपुर दैनिकबाट