
बाँके, ११ पुस– दाइजो नल्याएको रिसमा आफ्नै पतिद्वारा आगो लगाइएकी रिहाना शेष ढपालीले न्यायका लागि गृहमन्त्री वामदेव गौतम गुहारेकी छन् । पति फरिद ९ महिना यता फरार छन् ।
‘मलाई जलाएर मार्न खोज्नेहरु कहिले पक्राउ पर्ने हुन् ? मलाई न्याय दिनुस्’, सामान्य साक्षर रिहानाले कागजको टुक्रामा लेखेर घरमै पुगेका मानवअधिकारकर्मीलाई भनिन्, ‘मेरो यो आग्रह गृहमन्त्री समक्ष पुर्याइदिनुहोला ।’
मोटरसाइकल र भैंसी दाइजो नल्याएको भन्दै गत चैत ३ गते मट्टीतेल छर्केर रिहानालाई आगो लगाएका थिए । त्यतिबेला उनी आठ महिनाकी गर्भवती थिइन् ।
घटनापछि उनले मृत बच्चा जन्माएकी थिइन । हाल उनी हरिमिनिया–८ मा बुबाआमासँग बसेकी छन् । पति फरिद र परिवार उतिखेरै भारततिर भागेका हुन् ।
कान्तिपुर दैनिकबाट