
काठमाण्डु, १२ पुस– कुख्यात ‘बिकनी किलर’ चाल्र्स शोभराजको प्रेमकहानी ट्रयाजिडी उन्मुख भएको छ । ६ वर्षअघि उनीसँगको प्रेम र विवाहका कारण संसारभरि चर्चाकी पात्र बनेकी निहिता विश्वास अहिले गुमनाम छिन् ।
पछिल्ला ३ वर्षदेखि त उनले शोभराजलाइ भेटेकी पनि छैनन् । उनी पछिल्लो समय शोभराजसँगको प्रेम र बिहेप्रति पश्चाताप गर्न थालेकी छिन् ।
०६५ को दसैमा आफूभन्दा ४५ वर्ष कान्छी निहितासँग टाीका लगाएर शोभराजले जेलमै विवाह गरेका थिए । निहिताका आमा शकुन्तला त्यसको साक्षी थिइन् । त्यसको दुई वर्षअघि नै शोभराज र निहिताको मनमा एकअर्काप्रति प्रेम अंकुराएको थियो ।
आफ्नो प्रेमबारे निहिताले सार्वजनिक रुपमा बोलेर संसारलाई चकित पारेकी थिइन । शोभराजको प्रेममा उनी यति क्रेजी भएकी थिइन कि सर्वाेच्च अदालतको फैसालालाई नै चुनौती दिइन्, न्यायाधीशहरुलाई गालीगलौज गरिन । त्यही अभियोगमा निहिता प्रहरी हिरासतमा समेत पुग्नुप¥यो ।
शोभराजको प्रेममा त्यति आशक्त निहिता पछिल्ला तीन वर्ष उनलाई भेटेकी पनि छैनन् । आमा शकुन्तलाका अनुसार पछिल्लो समय निहिता शोभराजलाई भेट्ने इच्छा नै गर्दिनन्, ऊ बारे चासो पनि राख्दिनन् । शोभराज भने निहितासँग भेट्न चाहन्छन् ।
नयाँ पत्रिका दैनिकबाट