
काठमाण्डु, १३ पुस– एमाओवादीले राज्य पुनर्संरचनामा सहमति भए मुख्य विवादका रूपमा देखिएका शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा लचिलो हुने धारणा व्यक्त गरेको छ ।
संविधानका विवादित विषयमा सहमति जुटाउन गठित कार्यदलको शनिबार बसेको बैठकमा एमाओवादीबाट कार्यदल सदस्य रहेका नेता कृष्णबहादुर महराले यस्तो प्रस्ताव गरेको स्रोतले बतायो ।
एमाओवादीलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट कार्यदलमा रहेका सद्भावनाका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले साथ दिएका छन् ।
कर्णले पनि राज्य पुनर्संरचनामा सहमति भए अन्य विषयमा आफूहरू लचिलो हुने धारणा बैठकमा राखेका थिए ।
दलहरूबीच सबैभन्दा बढी विवादका रूपमा देखिएको राज्य पुनर्संरचानामा सहमति जुटाउन कार्यदल तहमा सम्भव नहुने भएपछि फेरि शीर्ष बैठकमा पेस हुने भएको छ ।
अन्नपूर्ण पोष्टबाट