
काठमाण्डु, १४ पुस– नेतृत्व हस्तान्तरण हुनुपर्ने तथा उदारवाद र समाजवादका सकरात्मक पक्ष समेट्नु पर्ने बहस चलाउँदै आएका माओवादी नेता बाबुराम भट्टराईले पहिलोपटक औपचारिक रुपमा पार्टी केन्द्रीय समिति बैठकमा आफू पार्टी अध्यक्ष बन्नुपर्ने जिकिर गरेका छन् ।
आफू गुटको नेता भएर रमाउन नचाहने भन्दै भट्टराइले समग्र पार्टीको नेतृत्व लिन चाहेको बताए । ‘म नेतृत्व लिने साहस गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको छु । प्रयोग र परीक्षणको जिम्मेवारी लिन्छु’, भट्टराईलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘मैले पनि पार्टीको नेतृत्व लिन पाउनुपर्छ ।’
अघिल्लो बैठकमा अध्यक्ष पुष्पकमल दाहालले भट्टराई अध्यक्ष बन्ने चाहना व्यक्त गरेको जानकारी गराएका थिए ।
दाहालसँग अढाइ दशकदेखि सहकार्य गर्दै आएको स्मरण गर्दै भट्टराईले आफूले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न चाहे पनि संक्रमणकालमा पुरानै पुस्ताबाट नेतृत्वमा आउनु उपयुक्त हुने ठानेको पनि बताए ।
‘पूर्वमसाल समूहमात्रै होइन, एकता केन्द्रदेखि एमालेभित्रबाट आएका कमरेडहरुलाई पनि आफ्नो पार्टी भन्ने अनुभूति दिलाउन नेतृत्व प्रणालीमा वैचारिक संश्लेषण गरिनु पर्छ भट्टराइले भने ।
अन्नपूर्णपोस्ट दैनिकबाट