
काठमाण्डु, १५ पुस– दिल्ली प्रहरीले चोरी गरिएका महँगा मोबाइल फोन नेपालमा बेच्ने योजना बनाइरहेका दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ परेका ४२ वर्षीय बिपिन कुमार र २८ वर्षीय सुधीरले भारतको उत्तराखण्डमा पनि चोरीका मोबाइल बेच्ने गर्थे ।
प्रहरीले दुईजनासँग दिल्लीका धेरै सहरबाट चोरिएका ३५ वटा महङ्गा फोन पनि बरामद गरेको छ । हिन्दूस्तान टाइम्सले वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै अपराधीले मोबाइल फोनको आईएमईआई परिवर्तन गरेर बेच्ने गरेको जानकारी दिएको छ।
यस्तो गर्दा मोबाइल फोन ट्रेस गर्न असम्भव हुने गरेको समाचारमा जनाइएको छ ।
संयुक्त प्रहरी आयुक्त रवीन्द्र यादवले पत्रकार सम्मेलनमा भने, ‘आनन्द बिहारमा बिपिनले सुधीरलाई मोबाइल फोन दिइरहेका बेला दुवैलाई पक्राउ गर्यौसं ।’ आनन्द बिहारमा नेपालतर्फ जाने बस धेरै पाइन्छन् ।
प्रहरीका अनुसार उत्तराखण्डमा मोबाइल फोन बेच्नुअघि मध्यदिल्लीस्थित बजारमा आफ्ना सहयोगीको सहयोगले फोनको आईएमईआई नम्बर परिवर्तन गर्ने गरिन्थ्यो । नेपालमा आईएमइृआई नम्बरबिना नै मोबाइल फोन बेच्ने गरिएको थियो ।
बिपिन कुमारले आफूले जामा मस्जिद क्षेत्रबाट चोरीको मोबाइल किन्ने गरेको स्वीकारे । उनले करिब १५ सयदेखि दुई हजार भारतीय रुपैयाँमा मोबाइल खरिद गर्थे र आईएमईआई नम्बर परिवर्तन गर्न करिब एक हजार खर्च गर्थे ।
त्यसपछि २० हजार रुपैयाँमा उनले सुधीरलाई बेच्थे ।
उत्तराखण्डका व्यापारी सुधीरले नेपाल र उत्तराखण्डमा मोबाइल बेच्ने काम गर्थे । सुधीरको नेपाली व्यापारीहरूसँग सम्बन्ध भएको बताइएको छ । नेपालमा एक सेटको करिब ३० हजारमा बेचिन्थ्यो । ती दुई व्यक्तिले नेपाल र उत्तराखण्डमा एक सय २० वटा मोबाइल बेचेका थिए ।
अन्नपूर्ण पोष्टबाट