ह्यारी भण्डारीले लिए वेदलाई साक्षी राखेर अमेरिकामा सपथ

काठमाण्डु टुडे २०७५ पुष २६ गते १०:३४ मा प्रकाशित

काठमाण्डु, २६ पुस – नेपाली मुलका ह्यारी भण्डारीले अमेरिकामा स्टेट डेलिगेटको सपथ लिएका छन् । भण्डारीले हिन्दू धर्मावलम्वीको महान ग्रन्थ वेदलाई साक्षी राखेर सपथ लिएका हुन् । अमेरिकाको इतिहासमा हाउस अफ डेलिगेटमा विजयी हुने भण्डारी पहिलो नेपाली हुन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८ को स्टेट डेलिगेटमा उनी विजयी भएका थिए । राजधानी एनापलिसस्थित स्टेट हाउसमा बुधबार अपरान्ह भण्डारीले पदको सपथ लिएका हुन् ।

उनले आफ्नो विजयलाई ‘कर्मभूमी अमेरिकाको मूलधारको राजनीतिमा नेपालीको उपस्थितिको मिर्मिरे बिहानी’ भनेका छन् ।

‘यो विहानी ल्याउन योगदान पुर्याउने सबैप्रति कृतज्ञता प्रकट गर्छु,’ सपथ ग्रहरण समारोहमा उनले भने, ‘म त निमित्त मात्र हुँ। म यसको श्रेय मेरो जन्मभूमी र कर्मभूमीसँग साइनो गाँसिएका र यो अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबैसँग बाँढ्न चाहन्छु ।’

गत जुन २६, २०१८ मा भएको प्रथम चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनि दोश्रो स्थान हासिल गरी बिजयी बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us