नेपाल–भारत सम्बन्ध अहिले जस्तो राम्रो कहिल्यै थिएन: कोशियारी

काठमाण्डु टुडे २०७५ फागुन ३० गते १७:३८ मा प्रकाशित

नयाँ दिल्ली, ३० फागुन – भारतीय जनता पार्टीका बरिष्ठ नेता एवम् नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहका भारत तर्फका निवर्तमान संयोजक भगतसिंह कोशियारीले लोकसभाको निर्वाचन सम्पन्न भैसकेपछि दुवै देशका कार्यकारी प्रमुखले आफूहरुले तयार पारेको प्रतिवेदन बुझ्ने स्पष्ट पारेका छन् ।

उनले भने,‘हामीले तयार पारेको यो संयुक्त प्रतिवेदन कोशेढुंगा सावित हुन्छ । कुनै असहमति छैन । प्रधानमन्त्री मोदीजीले समय अभावका कारण प्रतिवेदन बुझ्न नभ्याउनुभएको हो । अब निर्वाचनपछि बुझ्नुहुन्छ ।’

उनले उक्त प्रतिवेदनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा देखा परेका अहिलेका र विगतका सबै समस्याको समाधान गर्ने पनि ठोकुवा गरे ।

उनले थपे,‘यो प्रतिवेदन हामीले धेरै मेहनत गरेर बनाएका छौं । प्रतिवेदनलाई लिएर भारतीय सरकारको कुनै असन्तुष्टि छैन् ।’

उनले नेपाल–भारत सम्बन्ध अहिलेजस्तो राम्रो कहिल्यैपनि नभएको स्पष्ट पारे ।

उनले भने,‘अहिले दुई देशबीचको सम्बन्ध धेरै सुमधुर छ । नेपालको विकास र समृद्धिमा भारतले सदैव सहयोग गर्छ ।’ नेपालमा अब हुन गैरहेको लगानी सम्मेलनमा भारतबाटपनि गहकिलो उपस्थिति हुने उनको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us