श्रम समझदारी कार्यान्वयन गर्न मलेसियालाई नेपालको जोड

काठमाण्डु टुडे २०७५ चैत ४ गते २०:३७ मा प्रकाशित

काठमाण्डु, ४ चैत– श्रमिक आपूर्ति तथा त्यस सम्बन्धमा हालै भएका द्विपक्षीय समझादारीको शीघ्र कार्यान्वयन गर्न नेपालले मलेसियासँग अनुरोध गरेको छ ।

मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले सोमबार त्यहाँको परराष्ट्र मन्त्रालयका उपमहानिर्देशक राजा दातो नुरसिरवान बिन जैनाल अबिदिनलाई भेटेर दुई देशबीच हालै भएका समझदारी लागू गर्न अनुरोध गरेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । ‘श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ मापदण्डअनुरुप मलेसिया सरकारले यथाशक्य चाँडो काम अघि बढाएमा नेपालीलाई मलेसिया आउन सहज हुनेछ’, नेपाल–मलेसिया सम्बन्धका अतिरिक्त श्रमिकका हकहितमा केन्द्रित रहेर राजदूत पाण्डेले गर्नुभएको अनुरोध उद्धृत गर्दै उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राजदूत पाण्डेले दुई देशबीचको उच्चस्तरीय भ्रमण, नेपालमा मलेसियाली लगानी तथा यही चैत १५ र १६ गते काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनमा मलेसियाली लगानीकर्ताको अधिक सहभागिताका निम्ति अनुरोध गरेका थिए

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us