नेपाली सेनाको विषयमा राष्ट्रसंघका महासचिवसँग रक्षामन्त्रीले राखे यस्तो माग

काठमाण्डु टुडे २०७५ चैत १५ गते ९:५७ मा प्रकाशित

काठमाण्डु, १५ चैत – अमेरिका भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच शिष्टाचार भेटवार्ता भएको छन् । संयुक्त राष्ट्रसंघको मुख्यालयमा बिहीबार भएको भेटवार्तामा मन्त्री पोखेरलले नेपाली शान्ति सेनाले राष्ट्रसंघको मुख्यालय र शान्ति मिसनमा नेतृत्वदायी तहमा भूमिका पाउनुपर्ने माग गरेका छन् ।

भेटघाटका क्रमा रक्षामन्त्री पोखरेलले विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गर्दै यसलाई थप सवल बनाउन नेपालको पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले शान्ति स्थापनाका लागि नेपालले छ दशकदेखि खेल्दै आएको भूमिकाबारे चर्चा गर्दै शान्ति सेनामा खटेर जाने सुरक्षाकर्मीहरूको रक्षा, सुरक्षा र सम्मानप्रति नेपालको चासो रहेको धारणा व्यक्त गरे ।

यही प्रसंगमा पोखरेलले शान्ति सेनामा महिला सहभागिता र राष्ट्र संघको मुख्यालय र शान्ति मिसनमा नेपाली शान्ति सेनाले नेतृत्वदायी तहमा भूमिका खेल्नका लागि अवसर प्राप्त गर्नुपर्नेतर्फ ध्यानाकर्षण गरे ।

भेटवार्तामा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले नेपालले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा संयुक्त राष्ट्र संघले नेपाललाई सकारात्मक रूपमा सहयोग पुर्‍याउने वचन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us